काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्नेगरी तयारी अघि बढाइएको छ। प्रतिनिधि सभाको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्दै यस्तो व्यवस्था अघि बढाएको हो। समिति सभापति डा. कृष्णहरि बुढाथोकीले बजेटजस्तै मौद्रिक नीति सार्वजनिक गर्ने मिति पनि निश्चित गर्न लागिएको जानकारी दिए।
बैठकमा बैंकर्सहरूले राष्ट्र बैंक ऐनको दफा १०० का केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै संशोधनको माग गरेका थिए। तर विधेयकमा उक्त दफा संशोधनका लागि खुला नगरिएकाले तत्काल प्रस्ताव अघि बढाउन कानुनी तथा प्राविधिक कठिनाइ रहेको सभापति बुढाथोकीले बताए। उनका अनुसार यस विषयमा सभामुख, अर्थमन्त्री र अन्य सरोकारवालासँग थप छलफल गरी वित्तीय क्षेत्रसँग सम्बन्धित कानुनी जटिलता समाधान गरिनेछ।






