३० साउन ,काठमाडौं । बंगलादेशमा हिन्दूहरू माथि भएको आक्रमणको कडा भर्त्सना गर्दै ईस्काेन। ईस्काेनले विराेध जनाउँदै निकालेको प्रेस विज्ञप्ति यस्ताे छ– नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ -इस्कोन नेपाल) बंगलादेशमा हालै वैदिक सनातन हिन्दू धर्मावलम्बीमाथि भएको आपराधिक आक्रमणको घोर विरोध गर्दै यस्ता अमानवीय क्रियाकलापमा संलग्न जोकोहीलाई पनि कडा कारवाही गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसँग माग गर्दछ । विश्वभरमा फैलिएर बसेका वैदिक सनातन धर्मावलम्बीहरुले सबैको भलो चिताउने गर्दछौं । तर, विभिन्न धार्मिक खोल ओडेका उग्रवादीहरुले हाम्रो यस स्वभावको गलत फाइदा उठाउँदै हामीमाथि समयसमयमा यस्ता अमानवीय हर्कतहरु गर्दै आएको इतिहासकै निरन्तरता बंगलादेशको यो घटना पनि हो ।
सनातन धर्मका आस्थाका प्रतीकहरु दुर्गा मन्दिर, शिव मन्दिर, इस्कोन मन्दिर आदिमा आगो लगाइएका छन् । हजारौं भक्तजनहरूमाथि शारीरिक उत्पीडन गरिएको छ। यी कार्यहरूले धार्मिक सहिष्णुता र मानवा-धिकारको गम्भीर अवहेलना गरेको छ। हिन्दू वैदिक सनातन धर्म एक शान्तिपूर्ण र सबै प्राणीहरूको भलाइको कामना गर्ने धर्म हो। यसको मूल शिक्षाले “सर्वे भवन्तु सुखिनः” भन्ने आदर्शलाई मान्यता दिन्छ, जसको अर्थ सबै प्राणीहरूको सुख, शान्ति र समृद्धि सुनिश्चित गर्नु हो । यसले सबै धर्मका अनुयायीहरूको सम्मान र सहिष्णुतामा विश्वास राख्छ र हिंसा तथा उग्रवादको कुनै पनि स्वरूपको विरोध गर्दछ ।
बंगलादेशका जनताले शासकीय व्यवस्था फेर्न स्वतःस्फूर्त आन्दोलन गरेर त्यहाँको राज्यसत्तालाई घुँडा टेकाएको र जसको परिणामस्वरुप प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेको भनिएको यस जनप्रर्दशनमा इस्लामिक खोल ओडेका केहि धार्मिक उग्रवादीले घुसपैठ गर्दै हिन्दुहरुमाथि गरेको आक्रमणले समग्र बंगलादेशी जनता तथा धर्मविशेषलाई प्रतिनिधित्व पक्कै पनि गर्दैन भन्ने हाम्रो मान्यता छ। हिन्दुहरुमाथि हुने यस प्रकारका आक्रमणलाई रोक्न र दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन विश्वभरबाट दबाव सृजना गर्न तथा एकताबद्ध हुन पनि सम्बन्धित सबैसँग अनुरोध गर्दछौं । यो आक्रमणमा परि दिवंगत भएका जनहरुप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछौँ। अन्तमा इस्कोन नेपालले यी आक्रमणहरूको कडा निन्दा गर्दै शान्ति र सहिष्णुताका लागि सबैलाई एकताबद्ध हुन अपिल गर्दछ ।











