ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं /: सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा तीन गुणाले अर्थात् २२० प्रतिशतले वृद्धि भई १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। डिबेन्चर रिडेम्सन रिजर्भमा रु. एक अर्ब ४६ करोड रकम छुट्याएपछि पनि बैंकले १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने आधार तयार भएको छ। गत वर्षको सोही अवधिमा वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो। समग्र मुनाफा पनि १०.२४ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ८ करोड रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो। बैंकले कम जोखिम भएका कर्जातर्फ प्राथमिकता दिँदै लगानी पोर्टफोलियोमा सुधार गरेको छ, जसले खराव कर्जालाई २.६२ प्रतिशतमा सीमित गर्दै सन्तुलित विस्तार गरेको छ।
बैंकको खुद व्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले वृद्धि भएको हो। सेवा शुल्क र अन्य आम्दानी समेत १५.०९ प्रतिशतले बढ्दै १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। यसरी सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतको वृद्धिसँगै कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। सिद्धार्थ बैंकले गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। निक्षेपमा ३८ अर्ब ९९ करोड र कर्जामा १९ अर्ब ७ करोड रुपैयाँको वार्षिक वृद्धि देखिएको छ। बैंकको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ। थोरै पूँजीकोषका बाबजुद पनि बैंकको व्यवसायमा सन्तुलित बृद्धि भएको देखिन्छ।
प्रमुख वित्तीय सूचकहरू सुदृढ :बैंकको प्रतिशेयर आम्दानी २४.१ रुपैयाँ पुगेको छ भने वितरणयोग्य आम्दानीमा आधारित प्रतिशेयर आम्दानी १३.२२ रुपैयाँ रहेको छ। प्रतिशेयर नेटवर्थ २१९.९७ रुपैयाँमा पुगेर २३.६१ रुपैयाँले वृद्धि भएको छ। दोस्रो बजारमा शेयर मूल्य र प्रतिशेयर आम्दानीको विचरण अनुपात अर्थात् पीई रेसियो १५.९३ रहेको छ। पूँजीकोष अनुपात ११.७७ प्रतिशत कायम छ।
खराब कर्जा अर्थात् एनपीएल सामान्य २.६२ प्रतिशत मात्रै रहेको छ। कर्जा तथा निक्षेप अनुपात ७६.९२ प्रतिशत पुगेको छ, जुन ०.२४ प्रतिशत विन्दुले सुधारिएको हो। बैंकको आधार ब्याजदर गत वर्षको तुलनामा १.६९ प्रतिशत विन्दुले घटेर ६.४२ प्रतिशतमा झरेको छ भने स्प्रेडदर ३.९८ प्रतिशतमा कायम गरेको छ। आर्थिक शिथिलता र ऋणीको कर्जा भुक्तानी क्षमतामा ह्रास आउँदा खराव कर्जा सामान्य वृद्धि भएको हो। वितरणयोग्य मुनाफा तीन गुणाले बढ्नु र सम्पूर्ण सूचकहरूमा सुधार हुनु बैंकको रणनीतिक सफलताको सूचक हो। बैंकको केही ऋणपत्र चालु आर्थिक वर्ष २०८२/८३मा परिपक्व हुँदैछ। यसपछि बैंकले मुनाफामा ठूलो छलाङ मार्ने अवस्था छ। बैंकको हरेक सूचकमा स्थिरता रहनुका साथै प्राकृतिक सुधार देखिएको छ।












