मकवानपुर। हेटौंडा उप-महानगरपालिका १० आनन्द टोलबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ५ सय २० मिलिग्राम, नगद ३१ हजार रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय संजिब राज थिङ र सोही उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीया मनिषा थिङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले संजिबको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.७३ प ५४९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।











