काठमाडौं, असोज ३१ – निर्वाचन आयोगले आफ्नो उन्नाइसौं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ। आज राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्नुभयो। नेपालको संविधानको धारा २९४ बमोजिम प्रस्तुत गरिएको प्रतिवेदनमा आर्थिक वर्ष २०८१ साउन १ देखि २०८२ असार मसान्तसम्म आयोगले सम्पादन गरेका मुख्य कार्य, उपलब्धि तथा आगामी योजनाहरू समावेश गरिएको छ।
कार्यक्रममा राष्ट्रपतिज्यूले आयोगको वार्षिक कार्य सम्पादनप्रति धन्यवाद ज्ञापन गर्दै आगामी २०७९ साल फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन पनि सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त भण्डारीले आयोगले गत आर्थिक वर्षमा मतदाता नामावली दर्ता तथा अद्यावधिक, स्थानीय तहका ४४ रिक्त पदमा उपनिर्वाचन, मतदाता शिक्षा तथा तालिम सञ्चालन, राजनीतिक दलहरूको दर्ता तथा अद्यावधिक जस्ता कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिनुभयो।
उहाँले आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको तथा संस्थागत सुधारको दिशामा आयोग अग्रसर रहेको जानकारी दिनुभयो। साथै, आगामी प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दलहरू र सरोकारवालाहरूको सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा आयोगका निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ, राष्ट्रपति कार्यालयका सचिव डा. दीपक काफ्ले, विज्ञ सल्लाहकारज्यूहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। विज्ञप्तिकाे मुल सार-:














