मकवानपुर, कार्तिक १९/ नेपाल टेलिकमले मकवान -पुर जिल्लाको थाहा नगरपालिका–९, चित्लाङमा एनटी फाइबर (FTTH) सेवा विस्तार गरेको छ। पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने चित्लाङ क्षेत्रमा अब आधुनिक टेलिफोन र इन्टरनेट सेवाको पहुँच सुरु भएको छ। थाहा नगरपालिका–९ मा अवस्थित श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा २०८२ कार्तिक १८ गतेदेखि टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालन गर्दै नेपाल टेलिकमले उक्त क्षेत्रलाई एफटीटीएच नेटवर्कमा जोडेको हो। यससँगै चित्लाङमा पहिलोपटक फाइबर प्रविधिमार्फत आधारभूत टेलिफोन र इन्टरनेट सेवा उपलब्ध भएको कम्पनीले जनाएको छ। विज्ञप्ति -:

ग्राहकहरूको बढ्दो मागका कारण केही विद्यालय तथा संस्थाहरूमा थप एफटीटीएच जडानको प्रक्रिया अघि बढाइएको छ। हाल सेवा रेडियो ब्याकहौलमार्फत सञ्चालन भइरहेको भए पनि चाँडै नै फाइबर ब्याकहौल प्रणालीमार्फत सेवाप्रवाह गरिने योजना रहेको नेपाल टेलिकमले जनाएको छ। यसपछि टेलिफोन र इन्टरनेटसँगै टेलिभिजन सेवासमेत विस्तार गर्ने तयारी कम्पनीको रहेको छ। नेपाल टेलिकमका अनुसार ग्रामीण तथा पर्यटकीय क्षेत्रहरूमा डिजिटल पहुँच विस्तार गर्दै सूचना प्रविधि सेवामा सर्वसुलभता कायम राख्नु कम्पनीको प्रमुख लक्ष्य हो।











