२६ भदौ,काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएको छ । राति १ बजेतिर अचानक हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल स्रोतले दिएको जानकारी अनुसार राति १ बजेर २० मिनेटमा उनलाई अस्पताल लगिएको थियो । बिहान सवा ४ बजे नेम्वाङको निधन भएको थियो ।
राति बाथरुम जाने क्रममा उनी एक्कासी ढलेको परिवारका सदस्यको भनाई रहेको छ । परिवारका सदस्यले तत्कालै अस्पताल पुर्याएको भए पनि बाटोमै उनको निधन भएको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
वि.सं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डिनेसन केन्द्र (माले)मा संगठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । वि.सं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।