सन्तोष प्र. तिवारी_
२०८१ वैशाख १ काठमाडौँ। मानव समुदायको चेतनामा आएको सभ्यताको धारणा नै विकास हुन सक्ला,यसमा पनि सामाजिक, आर्थिक, बाैद्धिक , सांस्कृतिक, राजनीतिक र यान्त्रिक रुपमा पुर्ण हुनुपर्छ। मानव समुदाय अझै पनि वास्तविक संसारबाट टाढा रहेको छ भने’ अवास्तविक संसारलाई वास्तविक संसार मानेर,यसमै अलमलिएर दुखि जिबन जिईरहेकाे देखिन्छ,तर एकातिर सुखकाे अनुभुति महसुस गरिरहेका छन् ति सुख पानीकाे फाेका जस्तो बनेको पत्ताे पाएकै छैनन् । समाजमा ठग र ढाेंगीहरु धेरै छन् ति मध्ये पनि भलादमी र अपराधी ठग छुट्याउन गाह्रो छ। आखिर शब्द एउटै हाे ठग। समाजले पनि यहि भन्छ । एक हिसाबले हेर्ने हो भने सिगाे संसार नैं ठग र ढाेंगीहरुकाे सञ्जालमा चलिरहेको छ । यसरी नै भन्न सकिन्छ कि, व्यक्तिले व्यक्तिमाथि शासन गर्नु, अमानवतावादी चिन्तन र चेतनाको अनुभूति गराउनु हो । समाजमा रहेका यस्ता पात्रहरू जस्तै- लोभी, दुराचारी, सन्की, उत्ताउलो, मन्द बुद्धि , जाली फटाहा,ध्रुत, घमण्डी र अहंकारीका लागि यो सम्भव जस्तै हुन्छ । इतिहास नै, भूत, वर्तमान र भविष्यको त्यो सिमाविहिन बिन्दु हो, जुन अन्त्य नै हुन सक्दैन । यही इतिहासको चिन्ह र अभिलेखहरुको गहिरो अध्ययन तथा अनुसन्धान पश्चात् नै मानव समुदायको वृद्धि, विकास, उन्नति, प्रगति, संगठनात्मक, नेतृत्वशिपको सफलता प्राप्त गर्दै आजको दिनसम्म आएको मान्न सकिन्छ ।
विस्तृत रुपमा इतिहास बुझ्ने र इतिहासको अध्ययन गर्ने हो भने इतिहास खासै लामो र पुरानो छैन । वर्तमान अवस्था त्यति परिवर्तित र बदलिदो पनि छैन । किनभने आज मानव समाज विभिन्न कालखण्ड, गतिविधि देखि जिवनशैलीको विभिन्न चरणहरु पार गर्दै मानव उत्पत्ति र ढुङ्गे युगलाई समापन गर्दै संघर्षमय जिवन जिउँदै प्राकृतिक विपत्तिलाई चुनौती दिदै अनेकौं माध्यम र चरण हुदै आज २१ औं शताब्दीको यो नविनतम् अवस्था सम्म आइपुगेको छ । वास्तवमा सम्पूर्ण प्रक्रिया, चरण र अनेकौं कालखण्ड एवम् समस्या झेल्दै यो अवस्थासम्म आइपुगेता पनि मानव समुदायले वास्तविक मानव र सभ्य मानवको पहिचान भने अझै पनि दिन सकेको छैन ।यो सभ्य धारणा मन चोखो र विचार पवित्र भएका महान व्यक्तित्वले मात्र ग्रहण गर्न सक्छन् ।
जति–जति मानव समुदायको वृद्धि, विकास, उन्नति, प्रगति र सिंगो सभ्यताको धारणामा नै परिवर्तन हुदै आएको छ । यहाँ आजको विश्व समाजले सम्पुर्ण मानव समुदायलाई सकारात्मक सोच भन्दा नकारात्मक सोचमा बढी ध्यान केन्द्रित गराईरहेको देखिन्छ। यहाँ आदर्श र नैतिकता भन्ने संस्कार नै विलुप भएर गईसकेको अनुभूति गर्न सकिन्छ। यहाँ त केबल जताततै मानिस, पथभ्रष्ट, मूर्ख, अपराधी, भ्रष्टाचारी, स्वार्थी, लोभि, घमण्डी, हत्यारा, शोषक, एकलकाटे, पापी, छम्धभेषिहरु, कलङकारी, अमानवीय चरित्र र गुणले परिचित हुदै आएको देखिन्छ । उदाहरणको रुपमा–मानवद्वारा गरिने विभिन्न क्रियाकलापका प्रयोजनबाट निस्कने, फोहोर मैला, ढल, केमिकलयुक्त विषाक्त ग्याँस, तरल एवम् ठोस पदार्थ,अन्य किसिमका सडेगलेका, कुहिएका, गन्हाउने वस्तु वा चिज जे जस्तो चिज, पदार्थ भएता पनि ति सबै बेकार चिज नै हुन सक्छन् र त्यसको उचित व्यवस्थापन पनि मानव समुदायले नै गर्दछन् । जसको निर्माण मानवीय गतिविधि र व्यवहारबाट बनेको हुन्छ । यसमा, राम्रा वा नराम्रा दुवै पक्ष समावेश भएका हुन्छन्, जसलाई हामी बोलीचालीको भाषामा नाली भन्छौ र त्यस नालीमा पाइने, ब्याक्टेरिया, सुक्ष्म जिवाणु, किराफट्याङ्ग्रा इत्यादी जिवहरु एवम् परिजिविहरु रहेका हुन्छन् । जसलाई हामी किरा भन्छौ ।
आज सिंगो मानव समाज यही नाली र नालीमा रहेको किराको अवस्थामा देखिएको छ । भोक, प्यास, गरिबी, अभाव, बेरोजगारी, भ्रष्टाचारी, जालसाजी , गफाडी, ब्ल्याकमेलर, अन्याय– अत्याचार, दमन, शोषण र रोगले ग्रस्त बनाएको समाज विसंगति, विकृति, जुवा–तास, धुम्रपान, मध्यपानको कुलत, विषालु र नशालु अम्लहरुको प्रयोग, गरी मानव शरिरलाई शिथिल कमजोर, अशक्त, मन्द बुद्धि र अमानवतावादी चिन्तन र सोचको नकारात्मक धारणालाई अंगाल्दै आधुनिक मानव समुदाय अगाडी बढ्दैछ । आज यस्तो परिस्थिति उत्पन्न भएको छ की मान्छेले मान्छेलाई चिन्दैन, एकले अर्कालाई विश्वास गर्दैनन्, ठूलो–सानो धनी–गरीब, शिक्षित – अशिक्षित, उँच निचको भावनाले ग्रस्त समाज अन्धकारमय भएको छ । मानवीय गुण अमानवीय गुणमा परिणत भएको छ । सिंगो भौतिक मानवीय शरिर,बनावटी रुपमा मानव देखिएपनि वास्तविक रुपमा ऊ असल र पूर्ण मानव बन्न भने अझै सकको छैन ।
मानवले–मानवमा हुनुपर्ने, मानवीय गुण व्यवहार, चरित्र आदर्श र नैतिकताले आज आएर बाटो विराएको छ । मानवीय स्थायित्व र अस्तित्वको लागि गरिने मान, मर्यादा, आदर सम्मान, एवम् मानव संस्कृतिले नै सिर्जना गरेको सुन्दर मानवताको, अस्तित्वलाई दिन–प्रतिदिन मेटाउदै गएको पाइन्छ । यस्तै खाले विसंगति, कुसंस्कृति तथा अमानवीय व्यवहार र आचरणले मानव समाज एक कलङ्क अभिशाप, जिर्ण र गन्हाउने नालीको रुपमा परिणत भएको छ र यही समाजमा रहेका मानव समुदाय नालिका किराको रुपमा दिनानुदिन फस्टाइरहेका छन् । मानव विश्व सजिव जगतमा एक सर्वश्रेष्ठ सजिव प्राणीको रुपमा कहलिएता पनि वास्तविकतामा ऊ यथार्थरुपमा पुर्ण रुपले सर्वश्रेष्ठ एवम् ज्ञानी मानव बन्न सकेको भने छैन।
अन्त्यमा भन्नु पर्दा नाली वा सडेगलेका फोहोर मैला एवम् सिनो गन्हायो भनेर मुख, नाक, छोपी, सेन्टहाली, छि–छि दुर–दुर गरी हिड्नु भन्दा आफु भित्र रहेका दरिद्रता, अपराधिक मानसिकता र नकारात्मक सोच–विचारलाई भित्र हृदय देखि नै फ्याँकेर, सकारात्मक सोच– विचारलाई ग्रहण गरी आफ्नो व्यवहारलाई मन चोखो र विचार पवित्र बनाई, मानवीय जिवनलाई सुन्दर र सुगन्धित बनाउनुपर्छ । आफु भित्रका ती अन्धकार र काला वादलहरुलाई हटाएर सफेद र चन्द्रमाको उज्यालो जुन जस्तो बनाएर भविष्य र वर्तमान मानव समुदायको अग्रगामी पाइलाहरु अगाडी बढाउदै जान आउने नयाँ युगको लागि मानव समुदायको चेतनाको सभ्यताको धारणासँगै सर्वश्रेष्ठ कहलिने एक नविन अवसर पनि हुनेछ । यद्यपी दयामाया, करुणा, आदर्श जस्ता मानव गुणका पवित्र तत्वलाई हरेक क्षण सम्झिरहनु र कुनै भुल तथा गल्तिलाई सुधार गरी असल नीति नियम पालना गरी अग्रगामी पाइलाहरु अघि बढाउँदै नक्कली समाजबाट सक्कली (ओर्जिनल) समाजमा रुपान्तरण हुनु नै आजको युगको मानव समुदायको सफलता हो ।











