ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । सरकारले म्यान्मा, थाइल्यान्ड, कम्बोडिया, लाओस लगायत मुलुकहरुमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई ३ बुँदे यात्रा सम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो । आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभनहरु देखाइ नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा यूएईसहित अन्य मुलुकमा रहेका नेपालीलाई थाइल्यान्डको बैंकक, याहुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइ विभिन्न माध्यमबाट म्यान्माको कायिन प्रान्तको म्यावडीमा लगी जबर्जस्ती अवैध कार्यमा लगाइएको पाइएको भन्दै सो सम्बन्धमा विगतमा पनि सचेत गराइएको मन्त्रालयले सूचना मार्फत स्मरण गरिएको छ ।
पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मामा लगी जबर्जस्ती अवैध कार्यमा लगाउने गरेको सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ । यस्तै, रोजगारदाताले राहदानी खोसिदिने, १२-१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायत समस्या रहेको सूचनाहरू आएका जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास याहुन र बैंककमा आवेदन गर्ने नेपालीको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिने जोसुकै व्यक्तिलाई विदेशमा पुर्याइ अलपत्र पार्ने, नेपाल सरकारको प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यस किसिमले क्रियाकलाप गर्ने र गराउने कार्य कानुन बमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्य नगर्न र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा परराष्ट्र मन्त्रालयले अनुरोध छ ।
रोजगारीका अवसरको प्रलोभन देखाइ सामाजिक सञ्जालहरू मार्फत विभिन्न स्थानका एजेन्टद्वारा प्रस्तावित हुने भएकाले त्यस्ता सामाजिक सञ्जालमा प्रचार गरिएका नक्कली रोजगारीको प्रलोभनमा नपर्न समेत परराष्ट्र मन्त्रालयले जनाएको छ । “वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न हुन र रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि विदेश स्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म, कम्पनी र रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म, कम्पनी र रोजगारदाताको वेबसाइट जाँच गर्नुहुन अनुरोध गरिन्छ”, सूचनामा भनिएको छ । रासस।











