सिरहा,१४ बैशाख । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवको चरित्र हत्या प्रयास गरिएको आरोप लगाउँदै नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल सिरहाका नेता तथा कार्यकर्ताहरूले शनिबार गोलबजारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेका छन् र आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै चक्का जाम गरेका छन्। नेपाल तरुण दल सिरहाका जिल्ला सभापति अर्बिन्द मण्डलका अनुसार,भाटभटेनी चोरी काण्डमा नेता यादवलाई अनाहकमा जोडेर अपमानित गरेको विरोधमा चक्का जाम र नाराबाजी गरिएको हो। गोलबजारको मुख्य चोक गोलपार्क नजिकै आधा घण्टासम्म राजमार्ग अवरुद्ध गर्दै कार्यकर्ताहरूले यादवको बदनामी बन्द गर लगायतका नारा लगाएका थिए।
नेता महेन्द्र यादवले मुकेश नामक छोरा नरहेको स्पष्ट पार्दै आफ्ना दुई छोराहरु, विकास यादव र आकाश यादव, दुबैजना डाक्टर भई विदेशमा रहेको जनाएका छन्। तर केही मिडियाले ‘मुकेश यादव’ नामक व्यक्तिलाई उनको छोरा भन्दै समाचार प्रकाशित गरेपछि विवाद चुलिएको हो। यसअघि आजै बिहान जनकपुर, धनुषामा समेत नेपाली काँग्रेस निकट नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन र चक्का जाम गरेका थिए। राप्रपा अध्यक्ष लिङ्देनले सहमहामन्त्री यादवलाई भाटभटेनी चोरी काण्डमा जोडेर दिएको बयानपछि चौतर्फी विरोध भइरहेको छ।











