ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दैलेखको जलजलेमा फेला परेको प्राकृतिक ग्यास (मिथेन) एक वर्षभित्र उत्पादन सुरु गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले बुधबार प्रतिनिधि सभा बैठकमा उनले दैलेखमा ११२ अर्ब घनमिटर ग्यास फेला परेको भन्दै एक वर्षभित्र त्यसको उत्पादन गर्न सरकारले काम थालेको बताएका हुन् । ओलीले भने, ‘नेपाललाई चाहिने इन्धन दैलेखको भू–गर्भभित्र छ, त्यसलाई उत्खनन् गर्छु भन्दा गालीको वर्षा भएको र सामाजिक सञ्जालमा ट्रोल गरिएको छ । काम गर्छु भन्दा, नयाँ परिणाम ल्याउँछु भन्दा पाएका गालीप्रति मलाई कुनै गुनासो छैन ।’ उनले ग्यास उत्पादन गर्न सके इन्धनको परनिर्भरता घटाउने र विदेश जाने मुद्रालाई नेपालमै रोक्ने बताए ।
प्रधानमन्त्री ओलीले नवलपरासीको धौवादीमा नेपाललाई एक सय वर्ष पुग्ने फलाम खानी फेला परेको र त्यसको उत्खनन् गर्न कम्पनी निर्माण गरी काम अघि बढाइएको बताए । ‘आजको भोलि नै नहोला, तर नेपालको आत्मनिर्भरता तर्फको यात्रामा यसले ठूलो अर्थ राख्छ । यसको व्यावसायिक उत्पादन २०८५ भित्रै सुरु गर्ने लक्ष्य रहेको छ,’ उनले भने ।











