ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि भनेर आइतबारबाट सुकिला नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंकले दशैंका लागि भनेर हिजाे भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गरेकाे छ। देशमा आएको विषम परिस्थितिका कारण सुकिला नोट वितरणबारे अन्योल थियो । तर, राष्ट्र बैंक तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्न सक्ने अवस्था रहेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिएका छन् ।
दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुनेछ ।अघिल्लो वर्षदेखि सुकिला नोट बाँड्न थाल्दै आएको राष्ट्र बैंकले त्यसअघि दशैंमा नयाँ नोट वितरण गर्ने गरेको थियो । बैंकले खर्च व्यवस्थापन गर्न नयाँ नोट बन्द गरेको हो । नयाँ नोटको सट्टा सुकिला नोट बाँड्दा वार्षिक झन्डै १ अर्ब ३० करोड रुपैयाँ बचत हुने राष्ट्र बैंकको अनुमान छ ।











