२०८२ कात्तिक २४, काठमाडौं,
सन्तोष प्रसाद तिवारी/ हालका वर्षहरूमा हाम्रो समाजमा सानो उमेरमै बालबालिका र किशोर किशोरीहरू धुम्रपान, मध्यपान, जाँड–रक्सी र लागुऔषध दुर्व्यसनमा फस्ने प्रवृत्ति तीव्र गतिमा बढ्दै गएको छ। यो अवस्था केवल परिवारको मात्र समस्या होइन, सम्पूर्ण समाज र राष्ट्रकै भविष्यसँग जोडिएको गम्भीर विषय हो।
कुलतमा फस्ने मुख्य कारणहरू-:
१. साथीको प्रभाव र लैलैमा साथीहरूबीच ठूला देखिन, रमाइलो गर्न वा समूहमा स्वीकार्यता पाउन बालबालिका कुलतको बाटो रोज्ने गर्छन्।
२. परिवारिक समस्या र असुरक्षाले घरमा हुने मनमुटाव,झगडा, अभावले अभिभावकको ध्यान नपुगेका कारण पनि बालबालिकाले गलत बाटो रोज्ने सम्भावना बढ्छ।
३. सामाजिक सञ्जालकाे माध्यम र फेसनले गर्दा कुलतमा फस्ने गर्छन् । जस्तै चलचित्र, गीत–संगीत र अनलाइन माध्यममा धुम्रपान वा रक्सीलाई विज्ञापनकाे रूपमा देखाइने हुँदा बालबालिकामा गलत आकर्षण पैदा हुन्छ।
४. लागुऔषधको सजिलो उपलब्धताका कारण बजारमा खुलेआम बिक्री–वितरण हुने, कानुनको कडाइ नभएको कारणले पनि दुर्व्यसन फैलिएको छ।
रोकथाम र नियन्त्रणका उपायहरू:-
१. अभिभावकले आफ्ना सन्तानका व्यवहारमा ध्यान दिनु, उनीहरूसँग खुला संवाद राख्नु र सानै उमेरदेखि सचेत पार्नु अत्यावश्यक छ।परिवारबाटै सचेतना हुनुपर्ने।
२. विद्यालयस्तरमै स्वास्थ्य र जीवन–सीप शिक्षा उपलब्ध गराई विद्यालयहरूमा कुलतका हानिबारे शिक्षादायी कार्यक्रम सञ्चालन गर्नुपर्छ।
३. समुदायस्तरमा जागरण अभियान र वडास्तरमा सचेतना र पुनःस्थापना कार्यक्रम सञ्चालन गरी दुर्व्यसनमुक्त समुदाय निर्माण गर्न सकिन्छ।
४. मानसिक स्वास्थ्य सल्लाह सुझाव दिने र पुनःस्थापना केन्द्रहरूमा दुर्व्यसनी बालबालिकालाई उपचार र पुनःस्थापना सेवासँग जोड्ने व्यवस्था हुनुपर्छ।
राज्यको भूमिकामा अपनाउनुपर्ने विषयहरु/-:
* कडा कानुनी व्यवस्था र कार्यान्वयन:
नाबालकलाई मादकपदार्थ, धुम्रपान वा लागुऔषध बिक्री गर्ने वा उपलब्ध गराउने व्यक्तिलाई कडा कारबाही गर्नुपर्छ।
* निश्चित क्षेत्र र उमेर सीमा निर्धारण:
धुम्रपान र मध्यपानका लागि निश्चित उमेरका व्यक्तिलाई मात्र, त्यसमध्ये पनि विद्यालय, पार्क, बालमैत्री क्षेत्र र सार्वजनिक स्थल वरिपरि बिक्री पूर्ण रूपमा निषेध गर्नुपर्छ।
* अनुगमन र निगरानी बलियो बनाउने:
वडा, नगरपालिका र जिल्ला प्रशासन कार्यालयहरू सक्रिय भई बजारमा हुने अवैध बिक्री, ओसारपसार र प्रयोगमाथि नियमित अनुगमन गर्नुपर्छ।
* सहयोगी नीति व्यवसायीका लागि:
कानुनी सीमाभित्र रहेर कारोबार गर्ने व्यवसायीलाई वैकल्पिक व्यवसायमा प्रोत्साहन, प्रशिक्षण र कर सुविधा दिने व्यवस्था गरि उनीहरूलाई समस्या नपर्ने गरि व्यवसाय गर्न दिने वातावरण मिलाउने ।
समाधान र निष्कर्ष:
बालबालिकालाई कुलतबाट बचाउन परिवार, विद्यालय, समुदाय र राज्य सबैको साझा प्रयास अपरिहार्य छ। सन्तुलित कानुन, दृढ कार्यान्वयन र सचेतनाको त्रिपक्षीय संयोजनले मात्र यो समस्या नियन्त्रण गर्न सकिन्छ। हाम्रो सानो प्रयासले पनि एक पुस्ताको भविष्य उज्यालो बनाउन सक्छ।
सन्तोष प्रसाद तिवारी
शंखरापुर ४ काठमाडौं ।







