काठमाडौं, ०१ माघ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (ICAN) बीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
बुधबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उक्त सम्झौता–पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कर्मचारीहरूका लागि तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा र अन्य विविध बैंकिङ सेवासुविधा उपलब्ध गराउनेछ।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका निर्देशकद्वय विनोद प्रसाद न्यौपाने र सिए किरण कुमार खत्री, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, उप–कार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल र रामकुमार थापा, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौडेललगायत बैंक तथा संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। हाल राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म ३१२ वटा शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम र ९९ शाखारहित बैंकिङ सेवा मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।













