काठमाडौं,वैशाख ६ । ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिस एण्ड एलाइड नेपाल सम्पर्क समितिले समसामयिक राजनीतिसँगै ट्रेड युनियनको पछिल्लो अवस्थाको बारेमा छलफल र अन्तरक्रिया गरेको छ ।
हालै काठमाडौंको कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले ट्रेड युनियन आन्दोलन र भावी कार्यदिशाको बारेमा आ–आफ्नो धाराणा राखेका थिए । ‘वर्तमान अवस्थामा नेपाल ट्रेड युनियनको अवस्था, चुनौती र आगामी कार्यभार’ विषयक अन्तरक्रियामा नेपालका मात्रै नभएर अन्तराष्ट्रिय जगतका ट्रेड युनियनकर्मीले पनि आफ्नो धारणा राखेका थिए । ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिस एण्ड एलाइडका अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष भोलानाथ पोखरेलले अहिलेको अवस्थामा ट्रेड युनियन आन्दोलनमाथि प्रहार भइरहेकाले छलफल र अन्तरक्रिया गर्नु आवश्यक रहेको बताएका थिए ।
उनले सबै मिलेर ट्रेड युनियनलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । उनीहरुले सरकारले ट्रेड युनियन खारेज गर्ने तयारी गरेकोमा आपत्ति पनि जनाएका छन् । उनीहरुले आफूले पाएको अधिकार कटौती नगर्न सरकारलाई सुझावसमेत दिएका छन् । कार्यक्रममा आइएलओ स्ट्याण्डर्ड कमिटीका नेपाल सदस्य महेन्द्र प्रसाद यादव, टीओआईका उपमहासचिव एश्री कुमार, टीओआइका महासचिवको तर्फबाट सेक्रेटरियट ज्वाला सफेताले धारणा राखेका थिए । टीओआइमा १ सय ४२ देश आबद्ध छन् । जसमा एसिशाका ३० वटा देश छन् । जसमा ८६ वटा संघसंगठन आबद्ध छन् । नेपालमा १० वटा संघसंगठनले यसमा आबद्धता जनाएका छन् ।












