सुर्खेत २०८३ असार ३०। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको प्रदेश अस्पताल, वीरेन्द्रनगरबीच कर्मचारी लक्षित बैंकिङ सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। २०८३ असार २९ गते सोमबार सम्पन्न सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले प्रदेश अस्पतालका कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन गर्ने तथा पेशाकर्मी सरल कर्जा उपलब्ध गराउनेछ। साथै कर्मचारीहरूलाई सहुलियत दरमा अन्य विभिन्न बैंकिङ सेवा–सुविधासमेत प्रदान गरिनेछ।
बैंकका अनुसार उक्त सम्झौताले अस्पतालका कर्मचारीलाई सहज, छरितो र सुलभ बैंकिङ सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। वि.सं.२०२२ माघ १० गते स्थापना भएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्लामा फैलिएका ३१६ शाखा कार्यालय मार्फत् कर्जा, निक्षेप, एटिएम, मोबाइल बैंकिङ लगायत आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।






