ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विद्यायन व्यवस्थापन समितिले जलस्रोत विद्येयक, २०८१ लाई परिमार्जन सहित पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा सिंहदरबारमा बसेको समितिको बैठकले जलस्रोत विद्येयक, २०८१ सम्बन्धी मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको हो । प्रतिनिधि सभामा उत्पति भएको उक्त विद्येयक प्रतिनिधि सभा, पूर्वाधार विकास समितिमा गहन छलफल भएर २०८१ चैत ११ गते पारित भएसँगै राष्ट्रिय सभामा पुगेको थियो । राष्ट्रिय सभा अन्तर्गतको विद्यायन समितिको १४ वटा बैठकमा गहन छलफल पछि उक्त विद्येयक पारित भएको हो ।
जलस्रोतको दिगो विकास, उपयोग र संरक्षण एवं व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँट, मौसम तथा जलउत्पन्न विपद् न्यूनीकरण, बाँधको सुरक्षा र अन्तरपुस्ता समन्वयका आधारमा सुनिश्चित गर्न उक्त विद्येयक ल्याइएको हो । बैठकमा ऊर्जामन्त्री खड्काले वृहत छलफल र मेहनतपछि विद्येयक पारित भएकामा समितिका सभापतिसहित सबै सदस्यलाई धन्यवाद दिए। विद्येयक जनताको सरोकारको विषय भएकाले समितिका सबै सदस्यको धारणालाई समेटेर सर्व सम्मत पारित भएकामा उनले खुसी व्यक्त गरे। विसं २०८१ असार १४ गते प्रतिनिधि सभामा प्रस्तुत भएको उक्त विद्येयक प्रतिनिधि सभामा सामान्य छलफल गरी गत वर्ष असार २५ गते दफाबार छलफलका लागि प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा पठाइएको थियो । पूर्वाधार विकास समितिमा नौ महिना छलफलपछि विद्येयक पारित भई राष्ट्रिय सभामा पुगेको थियो ।
विद्यायन व्यवस्थापन समितिका सदस्यबाट प्राप्त संशोधन प्रस्ताव, सरोकार भएकाहरू, विज्ञबाट प्राप्त सुझावलाई आधार मानेर विद्येयक परिमार्जन सहित पारित गरिएको समितिका सभापति तुलसा कुमारी दाहालले जानकारी दिइन्। उक्त विद्येयक साउन २३ गते बस्ने राष्ट्रिय सभाको बैठकमा पेस गरिने सभापति दाहालले बताइन्।











