सन्ताेष प्रसाद तिवारी (फिचर न्युज)
काठमाडौं, ६ कार्तिक।
केहि वर्षअघि अर्थशास्त्रमा स्नातक पूरा गरेका नरदेव पाण्डे (नाम परिवर्तन) ले रोजगारीको खोजीमा हरेक ढोका ढक्ढक्याए। परीक्षा पास गरे पनि अन्तिम सूचीमा उनको नाम कहिल्यै परेन। सबै कुरा मेरिट होइन, ‘सिफारिस’ चाहिन्छ रे, उनले निराश स्वरमा भने। नरदेवकाे जस्तो अनुभव अहिले हजारौं युवाको साझा कथा बनेको छ। रोजगारीको अभाव र प्रणाली प्रतिको अविश्वास – यी दुई तत्व अहिले देशमा फैलिँदै गएको भ्रष्टाचारको गहिरो जड बनेका छन्। जब परिश्रमको मूल्य छैन र पहुँचको राजनीति हावी हुन्छ, तब युवाहरूमा ‘ईमानदार भएर केही पाइँदैन’ भन्ने मानसिकता फैलिन्छ। यही सोच भ्रष्टाचारको नयाँ संस्कृतिमा परिणत हुँदै गएको विशेषज्ञहरू बताउँछन्।
सामाजिक विश्लेषक डा. रमेश अधिकारीका अनुसार, बेरोजगारी र विश्वासघातले समाजको नैतिक मेरुदण्ड कमजोर बनाएको छ। उनले भने”जब नेतृत्वले जनतालाई पटकपटक धोका दिन्छ, जनतामा असन्तोष मात्र होइन, अनैतिक बाटो रोज्ने मानसिकता पनि बढ्छ। भ्रष्टाचार त्यसकै परिणाम हो।”त्यस्तै अर्थशास्त्री मीना श्रेष्ठले रोजगारी सृजनाको अभावलाई आर्थिक अपराधको प्रमुख कारणका रूपमा औंल्याउँ छिन्।उनका भनाइमा “रोजगारी र अवसरको अभावले मानिसलाई जोखिम पूर्ण विकल्प रोज्न बाध्य बनाउँछ। जब वैध बाटो बन्द हुन्छ, अवैध बाटो खुला हुन थाल्छ।”राष्ट्रिय योजना आयोगका तथ्यांकअनुसार, पछिल्ला तीन वर्षमा बेरोजगार युवाको संख्या १८ प्रतिशतले बढेको छ। त्यसै अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका भ्रष्टाचार सम्बन्धी उजुरीहरू पनि उल्लेख्य रूपमा वृद्धि भएका छन्। यी दुई सम्बन्धका तथ्यबीचको समानान्तर बाटाेले नै बेरोजगारी र भ्रष्टाचार बीचको सम्बन्धलाई प्रस्ट देखाउँछ।
समाधान के हो त ?
विशेषज्ञहरूका अनुसार, रोजगार सृजनासँगै सिस्टम प्रतिको विश्वास पुनःस्थापना गर्नु अहिलेको आवश्यकता हो। शिक्षा, रोजगारी र पारदर्शिता – यी तीन स्तम्भ बलिया नबनेसम्म, भ्रष्टाचार घटाउने कुनै पनि प्रयास दीर्घकालीन हुन सक्दैन। नरदेव जस्ता युवाहरू अझै आशामा छन् ,राेजगारी चाहिन्छ, अवसर चाहिन्छ। हाम्रो मेहनतको कदर भयो भने, हामी पनि ईमानदार भएर देशमा केही गर्न सक्छौं,” उनी भन्छन्। नरदेवकाे स्वरमा एउटा पुस्ताको पीडा लुकेको छ -जसले बेरोजगारी र विश्वासघातको चपेटामा परे पनि अझै परिवर्तनको सपना देखिरहेको छ। तर त्यो सपना तब मात्र साकार हुनेछ, जब देशले बेरोजगारी र विश्वासघातका जरामा प्रहार गर्ने साहस जुटाउँछ।











