काठमाडौं / नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ। डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदान पु¥याएको भन्दै बैंकलाई एकसाथ दुई अवार्ड प्रदान गरिएको हो। मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल क्लियरिङ हाउसले राष्ट्रिय वाणिज्य बैंकलाई सबैभन्दा बढी QR मर्चेन्ट कारोबार गर्ने बैंक तथा सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंक का रूपमा पुरस्कृत गरेको हो। उक्त सम्मान बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्रहण गर्नुभएको थियो।
यस उपलब्धिप्रति राष्ट्रिय वाणिज्य बैंकले सम्पूर्ण व्यावसायिक मर्चेन्टहरू, ग्राहक महानुभावहरू तथा सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। बैंकले आगामी दिनहरूमा पनि डिजिटल बैंकिङको प्रवर्द्धन, सुरक्षित तथा प्रभावकारी भुक्तानी प्रणालीको विस्तार र ग्राहक केन्द्रित सेवामा थप प्रतिबद्ध भएर अघि बढ्ने जनाएको छ। डिजिटल कारोबारलाई सहज, सरल र सुरक्षित बनाउने उद्देश्यसहित गरिएको निरन्तर प्रयासकै प्रतिफल स्वरूप यो सम्मान प्राप्त भएको बैंकको विश्वास रहेको छ।











