काठमाडौँ, वैशाख २८ । ढकाल वंश महासंघको प्रथम महाधिवेशनबाट डा.श्यामप्रसाद ढकाल निर्वाचित भएका छन् । हालै काठमाडौँमा सम्पन्न महाधिवेशनले डा. श्यामप्रसाद ढकालको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा विश्वनाथ ढकाल, प्रथम उपाध्यक्षमा पुण्यप्रसाद ढकाल तथा महिला उपाध्यक्षमा विन्दु अधिकारी ढकाल निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षहरूमा टीकाराज ढकाल, सन्तोषराज ढकाल, कमल ढकाल, जीवनाथ ढकाल, जीवराज ढकाल, गोवद्र्धन ढकाल र कृष्णप्रसाद ढकाल चयन भएका छन् ।
महासचिवमा नवराज ढकाल निर्वाचित हुँदा उपमहासचिवमा तुलसीराम ढकाल, गोपाल ढकाल र रेवती ढकाल चयन भएका छन् । सचिवहरूमा शुभाषचन्द्र ढकाल, राजेन्द्रप्रसाद ढकाल र हरिनाथ ढकाल रहेका छन् भने सहसचिवमा गणेशप्रसाद ढकाल निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा शालिग्राम ढकाल तथा सहकोषाध्यक्षमा रविन ढकाल चयन भएका छन् । नवनिर्वाचित महासचिव नवराज ढकालका अनुसार ढकाल वंश र समाजसँग सम्बन्धित १३ वटा संस्थाहरू एकीकृत भएर महासंघ गठन भएपछि पहिलो पटक महाधिवेशन आयोजना गरिएको हो । अधिवेशनबाट आगामी दुई वर्षका लागि महासंघले सञ्चालन गर्ने विभिन्न कार्यक्रम तथा योजनाहरू समेत पारित गरिएको जनाइएको छ ।
महाधिवेशनमा सगोत्री बन्धुहरूको उल्लेखनीय सहभागिता रहेको थियो । पूर्व उपप्रधानमन्त्री (सीपी) मैनाली, पूर्वमन्त्रीहरू टंकप्रसाद ढकाल, वीरमणि ढकाल, भानुभक्त ढकाल, प्रतिनिधिसभामा झापा–४ बाट निर्वाचित सांसद शम्भुप्रसाद ढकाल, सांसद सुशीला ढकाललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
न्यायाधीश बालकृष्ण ढकालको प्रमुख आतिथ्यता एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालको संरक्षकत्वमा सम्पन्न अधिवेशनमा देशभरका विभिन्न संस्थाबाट प्रतिनिधिहरू सहभागी भएका थिए । साथै बर्मा, सिक्किम, भूटान, क्यानडा, भारतलगायत विभिन्न मुलुकबाट समेत प्रतिनिधित्व रहेको महाधिवेशनले अन्तर्राष्ट्रिय स्वरूप ग्रहण गरेको झल्को दिएको थियो ।
महाधिवेशनका अवसरमा तीन दर्जनभन्दा बढी विशिष्ट लेख–रचना समेटिएको ‘ढकाल वंश स्मारिका–२०८३’ को विमोचन तथा ढकाल वंश महासंघको वेबसाइट सार्वजनिक गरिएको थियो । महासंघले संसारभर रहेका ढकाल समुदायलाई वंशावलीमार्फत एउटै सूत्रमा जोड्ने दीर्घकालीन कार्ययोजना समेत अघि सारेको जनाएको छ । कार्यक्रममा वक्ताहरूले ढकाल वंशको एकता, सामाजिक सद्भाव तथा आगामी पुस्तामा संस्कार र पहिचान हस्तान्तरणमा महासंघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।











