काठमाडौं। २०८३ असार १४ “मासिक १०० अभियान नेपाल” द्वारा आयोजित ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमको ७८औँ शृङ्खला भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका परिकल्पनाकार तथा पूर्व अध्यक्ष एवं वरिष्ठ सल्लाहकार श्री सन्जय पोखरेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. निर्मल घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, ज्येष्ठ नागरिक तथा चारै पुस्ताका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष विकास श्रेष्ठ ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव सङ्गीता सुवेदी ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सम्मान, जन्ममहिना उत्सव, आजीवन सदस्यहरूलाई प्रशंसापत्र वितरण, प्रतिभा प्रदर्शन, भजन, नृत्य तथा सुख,दुःखका अनुभव आदानप्रदान गरिएको थिए। साथै नेपाली मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले असार १५ राष्ट्रिय धान दिवस समेत विशेष रूपमा मनाइएको थियो। धान दिवसको अवसरमा सहभागीहरूलाई दही चिउरा र आलुको अचार भोजनका रूपमा प्रदान गरिएको थियो। “चार पुस्ता एकै ठाउँमा” भन्ने भावनालाई आत्मसात गर्दै आयोजित कार्यक्रमले पुस्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति संस्थाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।







